१२ बैशाख २०८१, बुधबार

भुजेलको हत्या आरोपीलाई थुनामा राख्न आदेश


भुजेलको हत्या आरोपी

हेटौँडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उक्त अदालतले अजिताको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा-४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा-१४ बस्ने २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौँडा-९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौँडा-४ का घनटाउके भनिने सुशील थापामगर र सोनम गोलेलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

आज जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशलले उक्त आदेश दिएको हो । गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो । मृत फेला पर्नुभएकी भुजेललाई रकम लेनदेनको विवादको कारण आरोपीतले तारले घाँटी च्यापेर हत्या गरेको प्रहरीसँग साविती बयान दिएका थिए ।

यसैगरी जिल्ला अदालतले हेटौँडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई हत्याको आरोपमा रु एक लाख धरौटीमा लिई रिहा गर्न आदेश दिएको थियो । तर एलिशाले तत्काल रु एक लाख धरौटी बुझाउन नसकेपछि उनलाई चितवन जिल्ला कारागारमा थुनामा राख्न चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !