६ बैशाख २०८१, बिहिबार

प्रहरी हवल्दार मृत्यु प्रकरण : छानबिन टोली घटनास्थलमा


गोली

सुर्खेत, २९ पुस । जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ ।

यही पुस २७ गते नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो । यद्यपि मृतक कठायतका धर्मपत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न नमानेपछि घटना रहस्यमय बन्दै गएको हो । मृतक कठायतको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरी प्रशासनलाई छानबिन तथा अनुसन्धानका लागि अनुरोध गरिएको बताइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबिनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वको तीन सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान तथा छानबिनका लागि आज बिहान जाजरकोट पठाइएको जानकारी दिनुभयो । “टोलीले घटनाबारे छानबिन गर्नेछ,” उहाँले भन्नुभयो, “पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्न निर्देशन दिइएको छ ।”

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मृतकको शव आज परिवारलाई बुझाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले छानबिन अगाडि बढाएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी महेशकुमार आचार्यले जानकारी दनुभयो । सूचना अधिकारी आचार्यका अनुसार मृतकको शव जाजरकोट अस्पतालमा राखिएको र शव परीक्षण गरिएको छैन ।

पीडित परिवारले भने तीन दिन भइसक्दा पनि प्रहरी प्रशासनले शव बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बाजुरा घर भई हाल नेपालगञ्ज बस्दै आएका कठायत चार महिनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएका जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !