८ बैशाख २०८१, शनिबार

ठगी गर्ने चार युवक पक्राउ


Nepalpatra

२९ जेठ, पर्सा ।  चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो ।

वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत रु एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवाबाट प्रहरीले रु एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएमआइको सातवटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी संगठित ठगी मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक ढकालले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !