४ बैशाख २०८१, मंगलबार

भण्डारी दम्पत्ती हत्याका सुटर अर्जुन गौतम ७ बर्षपछि पक्राउ


हत्यारा

११ चैत, बुटवल । बुटवलका व्यापारी दम्पत्ती हत्याकाण्डका मुख्य सुटरलाई रुपन्देही प्रहरीले ७ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिकाको दुधराक्ष रामापुल कलौनीका २७ बर्षे अर्जुन गौतम छन् । हत्याका अर्का सुटर अर्जुनका सहोदर दाजु कृष्ण गौतमलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

दम्पत्ती हत्या लगत्तै भागेर भारतको दिल्ली पुगेका गौतमलाई शनिबार नेपाल भारत सीमा नाका बेलहियाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
गौतम त्यसअघि २०६५ सालमा पनि अटोमेटिक पेस्तोल र १२ राउण्ड गोलीसहित पक्राउ परेका थिए । भारतीय प्रहरीको समन्वयमा गौतमलाई पक्राउ गर्न सफल भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । भाई पक्राउ परेपछि दाजु पनि चाँडै पक्राउ पर्ने प्रहरीको विश्वास छ ।

०६७ साल असार ९ गते बुटवल ६ जेसीज चोकको बिष्णु भण्डारी स्टोर्सका संचालक रमेश भण्डारी र आशा भण्डारीको गोली हानी हत्या गरिएको थियो । बुटवलको व्यस्त बजारमा रहेको पसलमा प्रवेश गरी गौतम दाजुभाईले भण्डारी दम्पत्तीको हत्या गर्नुका साथै ५ लाख १८ हजार नगद लुटेका थिए । गौतम दाजुभाई सहित ५जनाको समूहले लुटपाट र हत्याको घटना घटाएको हो ।

लुटपाटका लागि फिल्मी शैलीमा पेस्तोल ताक्दै पसलभित्र पसेका गौतम दाजुभाईले काउन्टरको घर्रा खोल्न खोज्दा आशाले अवरोध गर्न खोजेपछि गोली चलाएका थिए ।

एक गोली लागेर ढलेकी श्रीमतीलाई उठाउन गएका श्रीमान रमेश भण्डारीलाई दुई गोली हानेर अभियुक्तहरु फरार भएका थिए । आशाको तत्काल घटना स्थलमै र रमेशको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सो घटनाका मुख्य योजनाकारसहित ५ जनालाई प्रहरीले घटनाको करिब ६ महिनापछि पक्राउ गरेको थियो । ती मध्ये घटनाका मुख्य योजनाकार भोलेबाबा भनिने सम्भु गौतम र श्याम प्रसाद बिक थुनामा छन् ।

भण्डारी दम्पत्ती हत्याको घटनामा भोलेबाबा र श्याम प्रसाद बिकले चलाएको मोटर साइकलमा चढेर आएका गौतम दाजु भाई घटनालगत्तै सोही मोटरसाइकल चढेर भागेका थिए ।

घटनामा हतियार लुकाउन र मोटरसाइकल उपलब्ध गराउन सघाएका निम प्रसाद थापा, पुरन श्रीस, राजु गलामी पक्राउ पछि रिहा भइसकेका छन् । सुरुमा भोलेबाबाकै योजनामा सो समूहले बुटवलको आइएमई बैंक लुट्ने योजना बनाएको थियो ।

सो योजना असफल भएपछि बुटवलका धनाढ्य व्यापारी लुटने योजना अनुरुप घटना घटाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशव भट्टराईले बताए ।-नागरिक न्युजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !