१३ बैशाख २०८१, बिहिबार

भारतीय सुरक्षाकर्मीद्वारा गर्भवती महिलामाथि कुटपिट


५ चैत, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले आइतवार एक गर्भवती महिला र युवकमाथि कुटपिट गरेका छन् ।

पूर्णागिरी टोलका ३१ वर्षीय दिनेश जोशी र उनकी पत्नी ३० वर्षीया सपना जोशीलाई हतियार र लाठीसहित आएको भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले कुटपिट गरेका हुन् ।

एसएसबीले प्रहार गरेको लाठीवाट दिनेश जोशीको दाँया हात र टाउकोमा चोट लागेको छ । दिनेशले भने, ‘भैंसी चराउन लागेको थिए, एकाएक आएर कुटपिट गरे ।’

श्रीमानलाई बचाउन जाँदा गर्भवती सपना जोशीलाई पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले लछारपछार गरेको दिनेशले बताए ।

शुक्रबार सीमावर्ती भारतीय बजार नगरवाट साइकलमा सिमेन्ट ल्याउँदै गर्दा दिनेश जोशी र भारतीय सीमा सुरक्षा जवानवीच विवाद भएको थियो ।
कुटपिट गर्ने भारतीय एसएसबी सिमलघाट क्याम्पका जवान रहेकाे जोशीले बताए ।

कुटपिटको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्टको प्रहरी निरीक्षकसहितको एक टोली सोमबार बिहान घटनास्थलमा पुगेको छ । घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । यो समचार आजको थाहा खबरमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !