११ बैशाख २०८१, मंगलबार

दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी


दीपक मनाङ्गे

४ चैत, काठमाण्डौ । प्रदेशसभावाट निर्वाचित सांसद दिपक मनाङ्गे बिरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । मनाङ्गे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेडक कर्नर नोटिस जारी गरेको हो ।

‘गुण्डा नाईके’को रुपमा चिनिएका मनाङ्गेको नेपाल भित्र मात्रै नभएर विदेशमा समेत खोजी भईरहेको जानकारी दिँदै प्रहरी प्रवक्ता (डिआईजी) मनोज न्यौपानेले भने, ‘अदालतवाट कैद सजायको फैसला भएका दीपक मनाङ्गेलाई हामी खोजिरहेका छौं, देश–विदेश सबैतिर खोजिरहेका छौं ।’

०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो ।

२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाण्डौ, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर मनाङ्गेको खोजी गरेको भएपनि फेला पार्न सकेको थिएन ।

लामो समयसम्म पनि फेला नगरेपछि नेपाल बाहिर गएको सूचनाको आधारमा रेड कर्नर नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !