७ बैशाख २०८१, शुक्रबार

प्रहरीको दाबी : श्रीमतीकै योजनामा कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्या


दीपक पाण्डे

बुटवल । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ । ३ साता लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको प्रहरीको दाबी गरेको छ ।

हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । कपिलवस्तु नगरपालिका-१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्षदेखि सम्बन्ध रहँदै आएको थियो ।

दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान श्रीमतिबीच मनमुटाव आएर मृतक पाण्डे र यादबबीच पनि सम्बन्ध बिग्रिएर मिलेमतोमा हत्या गरिएको अनुसन्धानमा खुलेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले मुख्य योजनाकार महिमासहित हतियार उपलब्ध गराउने गिरोहलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले पाण्डे हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग गरेका ६ जनालाई नै नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न कपिलवस्तु नगरपालिका-१ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका-२ बस्ने साकिर अलि पखिया, कपिलवस्तु नगरपालिका-२ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पाली समेत पक्राउ परेका छन् ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसार-पसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका-२ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिदटोलका नरसत अलि रहेका छन् ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका-३ गोबरीमा गोली प्रहारपछि घाइते भएका उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !