८ बैशाख २०८१, शनिबार

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ : गृहमन्त्री थापा


Ram Bahadur Thapa

काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिनुभएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उहाँले प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ । ‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भन्नुभएको छ ।

लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो । आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

नेपालमा पनि वर्षेनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरुपमा यो दिवस मनाउने गरिएकोमा कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने सन्दर्भमा यो वर्ष दिवसका औपचारिक कार्यक्रम गर्न नसकिएको गृहमन्त्रालयले जनाएको छ । यद्यपि कोभिड–१९ को सङ्क्रमणबाट लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा संलग्नमा समेत ठूलो प्रभाव परेका कारण महामारीबाट सुरक्षित रहँदै लागुऔषध दुरुपयोग र यसको कारोवार नियन्त्रणका कार्य भइरहेको मन्त्री थापाले बताउनुभएको छ । मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा निरन्तर सहजीकरण भइरहेको सन्देशमा उल्लेख छ ।

मन्त्री थापाले सन्देशमा मन्त्रालयले प्रतिकूल अवस्थामा लागुऔषध कारोवारमा संलग्नले नयाँ मार्ग र विधिको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको उल्लेख गर्नुभएको छ । यसको अझ प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास भने अपरिहार्य छ ।

नेपालमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने कुरालाई मध्यनजर गरी नेपाल सरकारले यसै वर्ष नेपाल लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरिसकेको छ । दिवसको अवसरमा लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणको कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै यसको नियन्त्रणमा साझा जिम्मेवारी रहेकोसमेत उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !