७ बैशाख २०८१, शुक्रबार

अवैध सुनसहित दुई युवक पक्राउ


पक्राउ

लहान । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

सडकमै धान रोपाइँ

सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् ।

नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष राजु श्रेष्ठलाई जीर्ण सडक मर्मतका लागि पटकपटक आग्रह गरे पनि वेवास्ता गर्दै आएकाले सडकमै धानको बीउ रोपेर विरोध जनाएको स्थानीय युवा रामकुमार महतोले जानकारी दिनुभयो । करिब ४०० मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !