१२ बैशाख २०८१, बुधबार

डाँका गरी फरार रहेका एक अभियुक्त ५६ वर्षपछि पक्राउ


पक्राउ

सप्तरी । डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई आज कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डाँका र जालसाज मुद्दामा फरार रहेका यादवलाई सप्तरी जिल्ला अदालतले ५६ वर्षअघि कैद सजायको फैसला गरेको थियो । जालसाजी कसुरमा अदालतले उनलाई २०२१ जेठ १९ गते छ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !