आफ्नै छोरीलाई गोली हान्ने बाबु भए कारागार चलान Nepalpatra
१६ मंसिर २०७७, मंगलबार

आफ्नै छोरीलाई गोली हान्ने बाबु भए कारागार चलान


कारागार

ओखलढुङ्गा, ७ कात्तिक । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गर्नुभएको छ । अहिलेसम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

गुम्बा मर्मतका लागि आएको रकम फ्रिज

जिल्लाको मोलुङ गाउँपालिका-८ स्थित माझखर्क गुम्बा विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भयो । गुम्बामा रहेका मूर्तिलगायत सामान क्षतिग्रस्त भए ।

खिजीदेम्बा गाउँपालिकामा पर्ने जिल्लाकै ऐतिहासिक किल्खोर्दिङ गुम्बा भूकम्पबाट कुनै काम नलाग्ने गरी भत्कियो । पूजापाठ भइरहेका बेला भूकम्पले गुम्बा भत्काउँदा त्यहाँभित्र हुने केही धर्मगुरु र भक्तजन घाइते भए । जिल्लाका दर्जनौँ गुम्बा, माने, मठमन्दिर, चर्चलगायतका सम्पदा भूकम्ले भत्कायो । भूकम्प गएको छ वर्ष हुनलाग्दा पनि सम्पदा पुनःनिर्माणले भने गति लिनसकेको छैन ।

केही मठमन्दिर र गुम्बा मर्मतसम्मको काम भए पनि अधिकांश सम्पदा भूकम्पकै भग्नावशेषमै छन् । निर्माणाधीन खिजीकातीको चर्नालु गुम्बा भूकम्पले क्षति भयो तर त्यो गुम्बा पुनःनिर्माणको सूचीमा परेन । गुम्बा भूकम्पले ध्वस्त पारे पनि प्राधिकरणको सूचीमा नपरेको र पुनःनिर्माणको सूचीमा परेकाहरु पनि हालसम्म पुनःनिर्माणमा कुनै पनि निकायले चासो नदिएको गुम्बाका प्रमुख थुचेन लामाले बताउनुभयो ।

“ढुङ्गामाटोले बनेका यस क्षेत्रका गुम्बाहरू भूकम्पले भत्कायो, गुम्बामा रहेका मूर्तिसहित सामानमा क्षति पुग्यो । गुम्बाका सम्पूर्ण सामग्री पुरिएर कामै नलाग्ने भयो”, उहाँ भन्नुभयो, “तर कुनै गुम्बा पुनःनिर्माणको सूचीमा परेनन्, परेकामा पनि समयमा काम भएन ।” पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना बोकेको खिजीदेम्बा गाउँपालिकाका साविकका सबैजसो गाविसमा भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणको पर्खाइमा छन् ।

सम्पदा पुनःनिर्माण सरकारको प्राथमिकतामा नपरेको रगनीका डेण्डी शेर्पाले बताउनुभयो । जनप्रतिनिधिलगायत सम्पूर्ण क्षेत्रमा बारम्बार अनुरोध गर्दा पनि संरचना पुनःनिर्माणमा कसैले ध्यान नदिएको उहाँको भनाइ छ । शुद्ध मनले पूजापाठ गर्दा आफूलाई पनि पुण्य प्राप्त हुने र पुण्य नपाएको प्राणी-जगत्ले पनि स्वर्गमा बास पाउने किंवदन्तीका साथ पूजाआजा गर्ने बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर पुनःनिर्माणमा राज्यले बेवास्ता गरेको शेर्पाको गुनासो छ । उहाँले भन्नुभयो, “सांस्कृतिक धरोहर जोगाउन सबै लाग्नुपर्छ । इतिहास मेट्दै गएपछि आस्था र अस्तित्व पनि मेटिँदै जान्छ । त्यसैले आस्थावान् वस्तुलाई जीवन्त राख्नुपर्दछ, तर कसैले पनि चासो नदिँदा दुःख लाग्यो ।”

भूकम्पले चर्किएको कातीगाउँको शिव मन्दिर स्थानीयवासीले नै टालटुल पारेका छन् । कतैबाट बजेट नआउँदा टालटुल पारेर अहिले भूकम्पले भत्किएको भग्नावशेषमै बसेर पूजाआजा गरिरहेको स्थानीय काशीनाथ घिमिरे बताउनुहुन्छ । भूकम्पले गाउँबाट मानिस विस्थापित हुँदा गाउँमा आफ्नै थातथलोमा धार्मिक संस्कार जोगाउँदै आएका स्थानीय जातिय समुदायको धार्मिक परम्परा अहिले बिथोलिएको छ ।

विसं २०७२ को भूकम्पले कति सम्पदामा क्षति पुर्यायो भन्ने अहिले पनि जिल्लामा कुनै निकायसँग यकिन तथ्याङ्क छैन । सदरमुकाममा रहेको गणेश मन्दिर करिब चार वर्षसम्म अधुरो राखेर बल्ल निर्माण सम्पन्न गरियो । केही गुम्बाहरु पुनःनिर्माणअन्तर्गत मर्मतको चरणमा छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) को तथ्याङ्कअनुसार २०७२ को विनाशकारी भूकम्पबाट क्षति भएका नौवटा गुम्बा मर्मतका लागि रु एक करोड २८ लाख बजेट विनियोजन भएको थियो तर पाँचवटा गुम्बा मात्र मर्मत गरिएको छ । बाँकी चारवटा गुम्बा मर्मतको काम अघि बढ्न नसकेपछि रकम फ्रिज भएको छ ।

पाँच वटा गुम्बा मर्मतमा रु ७१ लाख ४५ हजार ३२२ खर्च गरिएको र अन्य रकम फिर्ता भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका निमित्त प्रमुख रीता लम्सालले बताउनुभयो । मर्मत गर्नुपर्ने गुम्बामा छनोट भएर पनि चारवटा गुम्बा मर्मत हुनसकेका छैनन् । मर्मत नभएका गुम्बामा देछेन छोयलिङ गुम्बा, उग्रेन छोग्छेन गुम्बा मर्मत, खास्रे गुम्बा मर्मत, तेङगिर केङगिर पोतलय गुम्बा छन् । यी प्रत्येक गुम्बा मर्मतका लागि आएको रु १०/१० लाख गरी रु ४० लाख बजेट काम नभएपछि फ्रिज भएको छ ।

विविध समस्याले सम्पदा पुनःनिर्माण सुस्ताएको प्राधिकरणले जनाएको छ । कार्यालयको अभिलेखमा देछेन छोयलिङ गुम्बा र उग्रेन छोग्छेन गुम्बा मर्मत लकडाउनको कारण सम्झौता नभएकाले काम नभएको र खास्रे गुम्बा मर्मत, तेङगिर केङगिर पोतलय गुम्बा मर्मतचाहिँ व्यक्तिगतरूपमा दर्ता भएको हुनाले सम्झौता नभएको उल्लेख छ । यो आर्थिक वर्ष २०७७/७८ का लागि तीन वटा गुम्बा निर्माणका लागि बजेट विनियोजन भएको छ ।

मोलुङ गाउँपालिका–८ मा माझखर्क गुम्बा निर्माणका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ । सिद्धिचरण नगरपालिका–५ मा निर्माण हुने उर्गेन च्छ्योलिङ गुम्बाको लागि रु ६७ लाख बजेट विनियोजन भएको छ । यस्तै मानेभञ्ज्याङ गाउँपालिका–४ केतुकेमा निर्माण हुने छैकु गुम्बाको लागि रु २३ लाख बजेट विनियोजन भएको छ ।

यी गुम्बामध्ये सिद्धिचरण नगरपालिका–५ मा निर्माण हुने उर्गेन च्छोलिङ गुम्बाको भने दशैँ अगाडि नै सम्झौता हुने चरणमा छ । माझखर्क गुम्बा निर्माण, उर्गेन क्ष्योलिङ गुम्बा निर्माणको लागि सर्भे, स्टिमेट तथा सम्झौता प्रक्रियामा छन् । छैकु गुम्बाको पनि काम अघि बढेको आयोजनाको दाबी छ । भूकम्पले भत्किएका सम्पदा मर्मत तथा पुनःनिर्माणका लागि केन्द्रले बजेट नपठाउँदा काम हुन नसकेको स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।

सम्पदा पुनःनिर्माणका बारेमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नियमित अवलोकन तथा अनुगमन गरिरहेको छ । सरकारको प्राथमिकतामा परे पनि जिल्लामा सम्पदा पुनःनिर्माणमा प्रगति नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत भलामान विश्वकर्माले बताउनुभयो । अनुगमनका क्रममा प्राविधिकहरु निर्माणस्थलमा नबसेको, स्थानीय सरकारले प्राथमिकतामा नराखेको र पुनःनिर्माण प्राधिकरणको ताकेतासमेत कम देखिएको उहाँको भनाइ छ । जिल्लाका आठवटै स्थानीय तहले पनि भूकम्पले भत्किएको सम्पदा निर्माणमा चासो देखाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !