६ बैशाख २०८१, बिहिबार

प्रहरीद्वारा १६ फरार प्रतिवादी पक्राउ


पक्राउ

सप्तरी, २३ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा यो चार दिनभित्र १६ फरार प्रतिवादी पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागुऔषध, चोरीका तीन÷तीन, वन मुद्दाका दुई, कर्तव्य ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यसैगरी जिप्रका जुम्लाबाट लागुऔषध, लुटपाट र चौपाय चोरीका एक÷एक र डोल्पाबाट केही सार्वजनिक अपराध, कालीकोटबाट चोरी र जिप्रका दैलेखबाट अंश दर्ता मुद्दाका एक÷एक गरी छ फरार पक्राउ परेको प्रवक्ता बाँस्तोलाले बताउनुभयो । पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्लाका जिल्ला अदालतसमक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तीन फरार प्रतिवादी पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकेको थियो ।

सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरिवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ ।

५५० गाँजाका बोट नष्ट

प्रहरीले ५५० गाँजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो । देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको ४५० गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको १०० गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !