, भयानक जिप दुर्घटना : ५ जना घाइते

भयानक जिप दुर्घटना : ५ जना घाइते

पुस ५, बागलुङ । बागलुङ जिल्लाको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । लु १ च ७७१८ नम्वरको पिकअप जिप बडिगाड गाउँपालिका-२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो ।

खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् ।

घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिएको छ । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको हो ।