८ बैशाख २०८१, शनिबार

नवलपरासी पूर्वमा यात्रुबाहक बस दुर्घटना : ३१ घाइते, ३ जनाको अवस्था गम्भीर


दुर्घटना

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । आज साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो ।

प्रहरीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, ३ जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार सबै ३१ यात्रु घाइते भएको उनले बताए । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको गिरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !