८ बैशाख २०८१, शनिबार

पूर्वी चितवन ट्रक र बोलेरो एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १ घाइते


दुर्घटना

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका-१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका-३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो ।

ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । घटना आज बिहान ३ः१५ बजे भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !