११ बैशाख २०८१, मंगलबार

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते


मोटरसाइकल दुर्घटना

नारायणगढ । मुग्लिन सडकखण्डमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ७ प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । गम्भीर घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !