६ बैशाख २०८१, बिहिबार

बीस लाख बराबरको चोरी


रकम

२७ चैत, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गए राति रु २० लाख बराबरको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट रु ११ लाखको गरगहना चोरी भएको छ ।

चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको रु छ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र रु चार लाखको सात किलो चाँदी गरी रु ११ लाखको चोरी गरेको छ ।

त्यस्तै गए राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् ।

चोरहरुले शर्माको घरभित्र रहेको रु छ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद रु ३५ हजार तथा अन्य सामान चोरी गरी लगेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

आज बिहान जिल्लाको दुई स्थानमा चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा अन्य इलाका प्रहरी र प्रहरी चौकीबाट ती स्थानमा चोरको खोजतलास गर्न व्यापक रूपमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विषादी सेवनबाट महिलाको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

साहले खेतबारीमा किरा मार्न प्रयोग गर्ने थाइमेट नामक विषादी सेवन गरेपछि उनको अवस्था सिकिस्त भएर परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गए राति करीब ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहले के–कति कारणले विषादी सेवन गरेको भन्ने खुलेको छैन । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !