१३ बैशाख २०८१, बिहिबार

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु


निधन

१६ जेठ, पाँचथर । पिकअपवाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपवाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको बताइएको छ ।

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !