८ बैशाख २०८१, शनिबार

कोरोना रोकथाममा स्थानीय तह सक्रिय


१९ अंक coronavirus-thumb-img

नेपालगञ्ज, १४ चैत । कोरोनाको सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरेको छ भने खजुरा गाउँपालिकाले आफ्नो पहलमा वडा नं १ मैटहवा माविमा क्वारेन्टाइन निर्माण गरेको छ ।

यसैगरी बाँकेका कोहलपुर नगरपालिकाले कृषि विकास बैंकको तालीम केन्द्र पिपरीमा, बैजानाथ गाउँपालिकाले सबै वडाका विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ । नरैनापुर र डुडुवा गाउँपालिकाले क्वारेन्टाइनस्थल निर्माण गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यस्तै, लायन्स डेन्टल अस्पतालमा २५ तथा नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर शिक्षण अस्पतालमा ६÷६ श्ययाको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ । प्रदेश सरकारको पहलमा खजुराको क्यान्सर अस्पतालमा आइसोलेशन कक्ष निर्माण भइरहेको छ । फोकल पर्सन नरेश श्रेष्ठका अनुसार महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सात र खजुराको मैटहवा माविको क्वारेन्टाइनमा चारजना शङ्कास्पदलाई पनि राखिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ जनाको रगत, खकार जाँचका लागि काठमाडौँ पठाइएको छ । भेरी अस्पतालमा कोरोनो जाँच गर्ने मेशिन जडान हुने भनिए पनि अहिलेसम्म मन्त्रालयबाट मेशिन जडानका लागि कुनै जानकारी नआएको अस्पताल प्रमुख डा प्रकाश थापाले बताउनुभयो । कोरोनाको सङ्क्रमण रोकथामका लागि अहिले बाँकेका स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय लागिपरेका छन् । यसरी कोरोना पैmलन नदिन सबै सरोकारवालाको सक्रियता हुने हो भने सङ्क्रमण रोकथाममा महत्वपूर्ण सघाउने पुग्ने विश्वास गर्न सकिन्छ ।

आपूर्ति व्यवस्था सहज बनाइने

नेपालगञ्जमा लक डाउनको समय लम्ँिबदै जाँदा दैनिक उपभोग्य सामान महँगिएको छ भने सामानको पनि अभाव हुँदै गएको नागरिकको गुनासो छ । नागरिकले दैनिक उपभोग्य तथा अत्यावश्यक सामान किन्न पाउने मौखिक सहमति जिल्ला प्रशासन कार्यालयले गरेको छ तर व्यापारीले दैनिक उपभोग्य सामानको पसल खोल्दा प्रहरीले हस्तक्षेप गर्दै आएको बताउँदै आएका छन् । अबदेखि भने सामानको आपूर्ति सहज बनाउने र प्रहरीले हस्तक्षेप पनि नगर्ने सहायक प्रजिअ दीर्घराज उपाध्यायले बताउनुभयो ।

लक डाउन भएको अवस्थामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको नागरिक गुनासो आएपछि बजार अनुगमनमा पनि तीव्रता दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा अहिले दैनिक अनुगमन भइरहेको छ । अनुगमन टोलीले रानीतलाउको सब्जीमण्डीको तरकारी पसलको अनुगमन गरेर व्यापारीसँग तरकारीको मूल्यबारे छलफल गरेको छ । तरकारी व्यापारीलाई तरकारीको मूल्य सूची राख्न र दैनिक तरकारीको मूल्य नेपालगञ्ज उपमहानगरपालिका पठाउन निर्देशन दिइएको उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

१६ जनालाई सुर्खेत क्वारेन्टाइन पठाइयो

नेपालगञ्जको जमुनहा नाकामा दुई दिनदेखि अलपत्र परेका १६ नेपालीको स्थानीय प्रशासनले व्यवस्थापन गरेको छ । बाँकेमा प्रजिअ कुमारबहादुर खड्काले नाकामा अलपत्र परेका उनीहरुलाई आज साँझ कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रादेशिक क्वारेन्टाइनमा पठाइएको जानकारी दिनुभयो । भारतबाट आएका ती नेपाली दुई दिनदेखि जमुनहा सीमा नाकामा अलपत्र परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !