८ बैशाख २०८१, शनिबार

सबै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालन


क्वारेन्टाइन

झिमरुक, १२ चैत । प्यूठानका नौवटै स्थानीय तहले कोरोनाको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले सङ्क्रमणको सुनिश्चित हुने अवधिभर (१४ दिन) छुट्टै राख्नका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन् । गत आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय भएअनुसार सोमबारदेखि क्वारेन्टाइन निर्माणको काम शुरु भएको थियो ।

प्यूठान नगरपालिकाले कालिका विकास केन्द्रको सभाहलमा १० शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाइन सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । त्यस्तै स्वर्गद्वारी नगरपालिका भिग्रीले प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा तीन शय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ । नगरपालिकाले नगरका सबै वडाका विद्यालयमा पनि क्वारेन्टाइन तयार गर्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।

ऐरावती गाउँपालिका बरौलाले मोती माध्यमिक विद्यालयमा चार शय्याको क्वारेन्टाइन मङ्गलबारदेखि सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । त्यस्तै माण्डवी गाउँपालिकाले जस्पुर विद्यालयमा १० शय्याको क्वारेन्टाइन पनि मङ्गलबारदेखि नै सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोख्रेलले बताउनुभयो । झिमरुक गाउँपालिकाले पनि बालशिक्षा माध्यमिक विद्यालयमा पाँच शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।

यसैगरी मल्लरानी गाउँपालिकाले मङ्गलबार साविक महिला तथा बालबालिका कार्यालयमा सात बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिकाले रानीकुवामा १० शय्याको क्वारेन्टाइन निर्माणका लागि तयारी भएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताउनुभयो । गौमुखी गाउँपालिकाले पनि लोकतान्त्रिक प्रावि रातामाटामा क्वारेन्टाइन निर्माणको तयारी गरेको पालिकाका अध्यक्ष विष्णु गिरीले बताउनुभयो । यससँगै प्यूठानका नौवटै स्थानीय तहले वडास्तरमा पनि क्वारेन्टाइन सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

जिल्ला प्रवेश गर्नेको दर घट्यो

सोमबारदेखि प्यूठान र दाङको सिमानामा पर्ने ददेरीमा सञ्चालनमा ल्याइएको हेल्थडेक्समा बिहान दुई घण्टाको समयावधिमा २३ पुरुष, १२ महिला हेल्थडेस्कमा जाँच गराएर प्रवेश गरेका छन् । मङ्गलबार ५३४ जना प्रवेश गरेको र बुधबार प्रवेश गर्नेको दर एकदमै न्यून रहेको सरुमारानी गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताउनुभयो । सबै पालिकामा भारतसँगै अन्य स्थानबाट आएका व्यक्तिलाई घरमै बस्न आग्रह गरेको समेत उहाँले बताउनुभयो ।

डेस्कमा प्यूठान प्रवेश गर्ने यात्रुको नाम, ठेगाना तथा सम्पर्क नम्बर लिइएको छ । मङ्गलबार केही मोटरसाइकल हिँडे पनि बुधबार मोटरसाइकल हिँड्ने दर कम भएको छ । मोटरसाइकल चालकले अनुमतिपत्र (पास) लिएर मात्र हिँडेको स्वास्थ्य संयोजक रायमाझीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले बुधबार सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै छ वटा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो । बुधबारदेखि पूर्णरुपमा सवारी साधन बन्द, समूहमा काम गरेका कामदारलाई काम नगर्न र मानिसलाई जम्मा नहुन आग्रह गरेको उहाँले बताउनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमण हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति अत्यावश्यक बाहेकका पसल बन्द गरेको छ । स्वास्थ्य कार्यालय, स्थानीय तहको अगुवाइमा कोरोना सङ्क्रमणबाट जोगिनका लागि अभियान जनस्तरसम्म पु¥याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !