१३ बैशाख २०८१, बिहिबार

जुम्लाका स्थानीय तहमा क्वारेन्टाइन बनाइने


सिञ्जा, १० चैत । कोरोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा बसेको स्थानीय तहहरुको बैठकले आवश्यकताका आधारमा स्थानीय तहमा एकभन्दा बढी क्वारेन्टाइन वा आइसोलेसन कक्षको व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

बैठकमा यहाँको तातोपानी गाउँपालिका, पातारासी, हिमा, गुठीचौर र चन्दननाथ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि भइरहेको व्यवस्थापनका पक्षबारे जानकारी गराएको थियो । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले तत्कालीन समाजशास्त्री डोरबहादुर विष्टले निर्माण गरेको कर्णाली इन्स्टिच्युटमा क्वारेन्टाइन स्थापना गरहेको जानकारी दिनुभयो । त्यस्तै हिमा गाउँपालिकाले हेल्थ डेक्स स्थापना, तातोपानी गाउँपालिकाले व्यवस्थापन समितिसहित आवश्यक तयारी गरेको जानकारी गराएको छ । यसैगरी गुठीचौर गाउँपालिकाले मणिसाँघुमा हेल्थ डेक्स राख्ने तयारी भएको जानकारी दिएको छ । बैठकले जिल्लाका स्थानीय तहहरुमा क्वारेन्टाइन क्षेत्र छनोट गरी व्यवस्थापन गर्ने र आवश्यक बजेट अभाव भएमा कर्णाली प्रदेश सरकार र केन्द्र सरकारलाई माग गर्ने निर्णय गरिएको बताइएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आजै बसेर स्थानीय नागरिकलाई आफैँ सुरक्षित हुन भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोधसहितको निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको बैठकमा जुम्ला बहुमुखी क्याम्पसमा आवश्यकताअनुसार क्वारेन्टाइन आइसोलेसन केन्द्र स्थापना गरिने निर्णय भएको छ । यसैगरी सो केन्द्र स्थापना गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा धिरज गुरुङको संयोजकत्वमा आठ स्वास्थ्यकर्मी टोली खटाइने भएको छ । यसैगरी जिल्लाका दुई स्थान जुम्ला विमानस्थल र जुम्ला कालिकोटको सिमानामा हेल्थ डेक्स स्थापना गरिएको छ । जुम्ला विमानस्थलमा समन्वय प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जाँच गरेर डेक्स उद्घाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष पदम उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा १५ सदस्यीय समिति गठन भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !