१३ बैशाख २०८१, बिहिबार

शैक्षिक संस्थालाई क्वारेन्टाइन बनाउन सुझाब


विद्यालय

९ चैत, काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारले उच्च सतर्कता अपनाएपनि उपचारका लागि पर्याप्त तयारी नगरेको भन्दै आलोचना भइरहेका वेला शैक्षिक संस्थाहरूलाई क्वारेन्टाइन स्थल बनाउन सुझाब आउन थालेको छ । विद्यालय तथा क्याम्पस बन्द रहेको र परीक्षा समेत स्थगित भएपछि आवश्यक परेमा शैक्षिक संस्थालाई क्वारेन्टाइन बनाउन उपयुक्त हुने विभिन्न छलफल तथा सामाजिक सञ्जालमा सुझाब आउन थालेका छन् ।

निजी तथा सार्वजनिक विद्यालय तथा क्याम्पसका कक्षा कोठा ठूला र पर्याप्त रहेकाले आवश्यक परेमा आइसोलेसन बनाउन सकिने उनीहरूको सुझाब छ । यसअघि नै चैत मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भइसकेको छ । कोरोना भाइरसको जोखिम कम नभए त्यसपछि पनि शैक्षिक संस्था बन्द हुने भएकाले क्वारेन्टाइन बनाउन सुझाब आएको हो ।

माध्यमिक विद्यालय तथा उच्च शिक्षालय संघ (हिसान) ले आवश्यक परेमा आफ्ना शैक्षिक संस्थाका कक्षा कोठालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय गरिसकेको छ । सामाजिक अभियन्ता, सामाजिक सञ्जाललगायत माध्यमबाट विद्यालयलाई क्वारेन्टाइनस्थलका रूपमा तयारी गर्न सुझाब आएका छन् ।

हिसानले उपत्यका सहित देशभरमा आवश्यक परे ५००० कक्षा कोठा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिले निर्णय गरेमा कोठा कोठा उपलब्ध गराउन हिसान तयार रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !