१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिममा भारतबाट फर्किएका ४२ जनामा कोरोना संक्रमण पुष्टि


गौरीफन्टा नाका

बैतडी । सुदूरपश्चिम प्रदेशमा एकैदिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक ÷एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा सङ्क्रमण पुष्टि भएको हो ।

गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखापरेको थियो ।

यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !