७ बैशाख २०८१, शुक्रबार

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आजदेखि दिइँदै


बालबालिकालाई लगाइने कोरोना खोप फाइल फोटो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको फाइजर खोप आजदेखि दिदै छ । आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो ।

पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा आज असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।

पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ ।

बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइने केन्द्रको भनाई छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।

बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।

यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !