भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको संक्रमण Nepalpatra भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको संक्रमण
१३ माघ २०७८, बिहिबार

भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको संक्रमण


ओमिक्रोन

नयाँ दिल्ली । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।

“एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए ।

उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ । उनले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनको संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।

सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो । यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो ।

त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !