१३ बैशाख २०८१, बिहिबार

भारतमा पनि देखियो कोरोनाको भेरियन्ट ओमिक्रोन


ओमिक्रोन

काठमाडौं । नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले आज बिहीबार कर्नाटकमा ४६ वर्षीय पुरुष १ जना र ६६ वर्षीय पुरुष १ जना गरी २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि उनीहरूमा मध्यम खालका लक्षण देखिएको बताइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लभ अग्रवालले सोबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् । पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा यो पाँच गुणा बढी संक्रमण हुनसक्ने बताइएको छ ।

भारतीय सरकारले उनीहरूको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याइसकिएको जनाएको छ । हालसम्म कोरोनाको भेरियन्ट ओमिक्रोन २९ देशमा फैलिसकेको छ भने यसबाट ३७३ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनको संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ । सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो ।

यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु