१२ बैशाख २०८१, बुधबार

देशभर आजदेखि भेरोसेल खोपको पहिलो मात्रा दिइँदै


भेरोसेल कोरोना खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ ।

खोप दिनका लागि जिल्ला अनुसार उमेर समूह छुट्ट्याइएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने मन्त्रालयले जनाएको छ ।

अहिलेको अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ ।

यस्तै खोप शाखाका अनुसार काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताए । त्यसैगरी १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

देशका मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका बाँकी ५८ जिल्लामा जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने असोजदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाउन लागिएको हो ।

पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाडौँमा भने दोस्रो मात्रा लगाइने छ । सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !