११ बैशाख २०८१, मंगलबार

दैनिक ५ लाखलाई खोप लगाउने योजना छ : राज्यमन्त्री श्रेष्ठ


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक ५ लाखलाई कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप लगाउने योजना सरकारको भएको बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उनले दैनिक ३ लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए ।

“खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए ।

“हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत) ले खोपको पूरा मात्रा लगाएका छन्”, उनले भने, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशत छ ।”

श्रेष्ठले कोरोना विरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । वर्तमान सरकारले कोरोना विरुद्धका ५ करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी दिए ।

सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनले बताए । “थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ”, उनले भने । जापानले उपलब्ध गराएको ५ लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् । प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उनले उल्लेख गरे ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । “भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्”, उनले भने ।

अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताए । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उनको भनाइ थियो । “होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ”, उनले भने ।

यो पनि पढ्नुहोस्

५ करोड ३० लाख मात्रा खोप सुनिश्चित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !