७ बैशाख २०८१, शुक्रबार

गृहले बजायो खतराको घण्टी : तेस्रो लहर आउन सक्ने भएकोले आइसोलेसन र अस्पताल तयारी अवस्थामा राखौं


गृह मन्त्रालय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहर आउन सक्ने भएकोले आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सवै ७७ जिल्लाका प्रशाशन कार्यालयलाई संचेत गराएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै खतराको घण्टी बजाएर आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई जिम्मेवारी दिन निर्देशन समेत दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ । मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । नेपालमा अहिलेसम्म ३७ लाख ४० हजार ८१७ पिसिआर परीक्षण भएको छ भने ३ लाख ८६ हजार ९२९ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म पिसिआर परीक्षणद्वारा ७ लाख २८ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टीजेन परीक्षणवाट ७४ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११७०८ जनामा पिसिआर परिक्षण गर्दा २७६३ जना र ६८७४ जनामा एन्टीजेन परिक्षण गर्दा ११५२ जना गरी ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

हाल देशभर ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा र ३२८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् भने ४३९ जना क्वारेन्टाइनमा बसेका छन् ।

यस्तो छ गृह मन्त्रालयले जारी गरेको सूचना

यस्तो छ गृह मन्त्रालयले जारी गरेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !