११ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा बढ्यो संक्रमण, एकैदिन १२७९ जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । केहि दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९०८ जना, ललितपुर जिल्लामा २०६ जना र भक्तपुर जिल्लामा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो मात्र काठमाडौं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । हिजो काठमाडौं जिल्लामा ६१३ जना, ललितपुर जिल्लामा १७७ जना र भक्तपुर जिल्लामा ११४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

हिजो मंगलबारै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको थियो ।

हिजो मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !