१३ बैशाख २०८१, बिहिबार

अमेरिकाले अनुदानमा दिएको १५ लाख कोरोना खोप नेपाल आइपुग्यो


अमेरिकाले दिएको १५ लाख कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ । अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८५० डोज कोभिड-१९ खोप काठमाडौं आइपुगेको छ ।

सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने काठमाडौँस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

झन्डै ७५ बर्ष लामो न्यानो नेपाल-अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम भएको पनि राजदूतावासले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !