४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला, सवै उमेर समुहलाई असर गर्ने


काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड-१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको जानकारी दिएका हुन् ।

मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (B.1.617.2) पुष्टि भएको छ भने एउटा नमुनामा अल्फा भेरियन्ट (B.1.1.7) पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन (K417N Mutation) पत्ता लागेको हो । नयाँ म्युटेशनलाई एवाई.१ (AY.1) नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ ।

नेपालमा हालसम्म variant of concern का रुपमा अल्फा बी.१.१.७ ( B.1.1.7) र डेल्टा बी.१.६१७.२ ( B.1.617.2) भेरियन्ट तथा variant of interest का रुपमा कप्पा बी.१.६१७.१ ( B.1.617.1 ) भेरियन्ट पुष्‍टि भएको छ ।

मन्त्रालयका अनुसार यीसहित हालसम्म नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ (Variant of Conern) को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

नेपालमा कोरोनाको कप्पा भेरियन्ट पुष्टि, सवै उमेर समुहलाई असर गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !