१३ बैशाख २०८१, बिहिबार

अन्तत: कोरोनालाई जितेर पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज


पूर्व राजा

काठमाडौँ । अन्तत: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हिजो कोरोना जितेका शाह पूर्ण स्वस्थ भई आज राती ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको तीन दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट हिजो नेगेटिभ आएको थियो ।कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले बताएको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो । कोमलको उपचार प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

साथै पूर्व अधिराजकुमारी प्रेरणा शाहको यसअघि कोरोना रिपोर्ट नै नेगेटिभ आइसकेपनि कोमलसँग अस्पतालमै रहने भएकोले आमासंगै डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा आराम गरिरहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई गत वैशाख ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु