७ बैशाख २०८१, शुक्रबार

कैलालीमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु


मृत्यु

टीकापुर । कोरोना संक्रमणको दोस्रो भेरिएन्ट समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको संख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट १८ को मृत्यु भएको छ ।

नगर जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलका अनुसार दुई दिनमा मात्र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ जना पुगेको छ । गाउँपालिकामा पनि सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जोशीपुर गाउँपालिका वडा नं १ का ५० वर्षका पुरुष र वडा नं ५ का ६० वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ की ४५ र ५१ वर्षीया दुई र वडा नं ७ का ६० वर्षीया महिला र सोही वडाका ६७ वर्षका पुरुष, बर्दगोरिया गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुष, जानकी गाउँपालिका वडा नं १ का ५८ वर्षका पुरुषको मृत्यु भएकोे अस्पतालले जनाएको छ । टीकापुर अस्पतालमा आइतबारमात्रै छ जनाको ज्यान गएको थियो । टीकापुर अस्पतालमा मात्र दुई दिनमा मृतकको संख्या १४ पुगेको छ । टीकापुर अस्पतालमा उपचारमा आएका १६ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईका अनुसार मृतक सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको र अक्सिजनको मात्रा पनि कम हुँदै गएको थियो । सो अस्पतालमा सोमबार ४१ जना उपचाररत छन् । यी सबैलाई अक्सिजनमा राखिएको छ ।

अस्पतालको कोभिड एचडीयु वार्डमा १४ र शंकास्पद २७ भर्ना भएका र आवश्यक मात्रामा अक्सिजन नपुगेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिनुभयो । ‘‘टीकापुर अस्पतालसँग जम्मा १२४ अक्सीजन सिलिण्डर छन्, यी अस्पतालमा आउने सबै विरामीका लागि प्रयोग हुन्छन्’’, उहाँले भन्नुभयो, ‘‘अहिले सबैभन्दा अक्सिजन नपाएर बिरामीको ज्यान जाने जोखिम बढेको छ । बेड नभएर बिरामीहरु बरण्डा, ग्यालरीमा राखेर उपचार भइरहेको छ ।’’

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा पनि सोमबार चार जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउपालिका वडा नं ४ का ५२ वर्षका पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ३ का ८७ वर्षका महिला, वडा नं १८ का ४२ वर्षका पुरुष र घोडाघोडी नगरपालिका वडा नं १० का ३७ वर्षका पुरुषकोे मृत्यु भएको छ सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा ५८ सङक्रमित र ३० जना संकास्पद बिरामीको उपचार भईरहेको उनले बताए ।

अक्सिजन प्लान्ट स्थापनाका लागि स्थानीय पालिकाको सहयोग

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यहाँका दुई पालिकाले बजेट विनियोजन गरेका छन् । अक्सिजन नपाएर बिरामी मर्न थालेपछि टीकापुर नगरपालिकाले रु २० लाख र जानकी गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका छन् । अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापनाका सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले रु ८० लाख विनियोजन गरेको छ ।

प्लान्ट स्थापना गर्न इ–टेण्डर भइसकेको छ । अस्पतालले अक्सिजन प्लान्टका लागि टेण्डर भइसकेकाले फिलर कम्प्रेसर उपलब्ध गराइ सहयोग गरिदिन दातालाई गुहारेको थियो । स्थानीय पालिकाले मात्र होइन अक्सिजन जोहोका लागि नागरिक स्तरबाट समेत रकम संकलन शुरु भएको अस्पताल विकास समितिका अध्यक्ष दीपबहादुर रावलले बताए ।

‘‘टीकापुर सरोकार समूहले पहल थालेको छ । देश विदेशमा रहेका नेपालीले लाखौँ रकम सहयोग गरिरहुन भएको छ’’, उनले भने, ‘‘अस्पताललाई दाताले दिएका ७ वटा भेण्टिलेटर सेट छ । जडान गरिसकेको अवस्था छ । आइसियु सेवा सञ्चालनका लागि लामो समयदेखि एनेस्थेसिया डाक्टर माग गरे पनि पाएका छैनौँ । डाक्टर भएको भए नागरिक बचाउन सकिन्थ्यो ।’’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !