६ बैशाख २०८१, बिहिबार

सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम


कोरोना महामारी

नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन ।

सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ ।

भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउनुहुन्छ ।

संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन् । सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्यारिन्टिनको व्यवस्था भने गरिएको छैन ।

तीन जना कर्मचारीले एउटा थर्मलगनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्यारेन्टिनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उहाँको भनाइ छ ।

भारतबाट आउनेलाई शङ्का र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा सङ्क्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् ।

ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्नबाहेक कुनै काम गर्न नसकिएको बताउनुभयो । “भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन् तर ती मानिसलाई सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न हामीले सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “ती मानिसबाट सङ्क्रमण फैलने जोखिम रहेको छ । बेलैमा सरकार सचेत हुनुपर्दछ ।”

कर्मचारी अभाव

सरकारले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, एक हेल्थ असिष्टेन्ट, एक सिनियर अहेब, एक नर्स, एक जना अनमी, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगीको गरी सात जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । जमुनाहा नाकामा एक सिनियर अनमी, एक अहेब र एक ल्याब टेक्निसियन मात्र रहेका छन् ।

ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले ती व्यक्तिको विवरण लिने, सामान्य थर्मलगनबाट ज्वरो नाप्नेबाहेक अरु कुनै काम गर्न नसकिएको बताउनुहुन्छ । “हामी तीन जनाले कसरी ६०० देखि ७०० जना मानिसको लागि व्यवस्थापन गर्न सक्दछाँै,” उहाँले भन्नुभयो, “सीमा नाकाबाट आउनेको हामीले विवरण मात्र राख्न सकेका छौँ । हामीले ती व्यक्तिलाई कोभिड–१९ बच्न र अरुलाई बचाउन सचेतना गराउन सकेका छैनौँ ।” उहाँका अनुसार नाका हुँदै आएका व्यक्तिमा सङ्क्रमण देखिए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी समेत रहेको छैन ।

यही चैत १३ गते भारतको महाराष्ट्रबाट आएका रोल्पाका एक जनामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण देखिएपछि उनलाई व्यवस्थापन गर्न समस्या भएको थियो । बिहान १० बजे परीक्षण गर्दा सङ्क्रमण देखिएको उनलाई राति ९ बजे मात्र एम्बुलेन्सको व्यवस्थापन गरेर सङ्क्रमितको घर रोल्पा पठाइएको उहाँको भनाइ रहेको थियो । “कोभिड–१९ लाई ‘छिटो परीक्षण र छिटो उद्धार’ (क्युक टेस्ट क्युक रेस्पोन्स) भन्ने मान्यता रहेको हुन्छ”, उहाँले भन्नुभयो, “तर यहाँ कुनै तयारी छैन । सङ्क्रमित देखिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने कुनै तयारी नै छैन । रोल्पाका एक जनालाई सङ्क्रमण देखिएपछि १० घण्टापछि उनलाई घरमा पठाएको थियौँ ।”

कक्षमा पर्याप्त जनशक्ति नहुँदा नाकाबाट नेपाल प्रवेश गर्नेको सबैको विवरण पनि लिन सकिएको छैन । बिहान ७ बजे कक्ष खुले पनि सुरक्षाकर्मी नहुँदा नाका प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्न सकिएको छैन । बिहान १० बजे सुरक्षाकर्मी आएपछि मात्र व्यक्ति ज्वरो नाप्ने र विवरण सङ्कलन गर्ने काम हुने गर्दछ ।

कक्षका अहेब हेमन्त रानाले जिल्लाबाट कसैले पनि काम गर्न समन्वय नगरेको बताउनुहुन्छ । “हामीले तीन जनालाई खटाएका छौँ । के गर्ने कसरी गर्ने भनेर अहिलेसम्म कोही पनि समन्वय गर्न आएका छैनन्” उहाँले भन्नुभयो, “हामीले जति गर्न सकेका छौँ । त्यति गरेका छांँै । हामीले मात्र गरेको कामबाट सीमा नाकाबाट आउने व्यक्तिबाट कोभिड–१९ लाई नियन्त्रण गर्न सकिदैन ।” उहाँले सीमा नाकामा कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणको लागि कुनै बलियो सयन्त्र नहुँदा नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोभिड–१९ सङ्क्रमणको जोखिम भइरहेको बताउनुहुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले कर्मचारी अभावले नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणको प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले चाँडै नै दरबन्दी अनुसार कर्मचारी राखेर रोकथामको कामलाई प्रभावकारी बनाइने बताउनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) का स्रोत व्यक्ति तेज वलीले कर्मचारी व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । “हामी जिल्ला र स्थानीय तहले मात्र सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न असम्भव छ,” उहाँले भन्नुभयो, “सङ्घबाट नै कर्मचारी व्यवस्थापन गरिरहेका छौँ । कर्मचारी व्यवस्थापनपछि प्रभावकारी रुपमा रोकथाम र नियन्त्रण गर्दछौँ ।” उहाँका अनुसार अहिलेसम्म छ हजार २०४ जना जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेको विवरण र ज्वरो नाप्ने गरिएको छ । यस्तै कोभिड–१९ को दोस्रो लहर चलेपछि बाँकेमा सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सीमा नाकामा १० जनामा सङ्क्रमण

भारतको उच्च जोखिम ठाउँबाट आएका १२४ जनामा एन्टिजेन परीक्षण गरिएकामा १० जनामा सङ्क्रमण देखिएको कक्षका ल्याब टेक्निसियन ज्ञवालीले बताउनुभयो । महाराष्ट्रबाट आएका व्यक्तिमा धेरै सङ्क्रमित भेटिएका छन् ।

उहाँका अनुसार सङ्क्रमणको लक्षण, शङ्का र ज्वरो आएपछि नमूना सङ्कलन गर्दा सङ्क्रमित देखिएको हो । सङ्क्रमितमध्ये लक्षण भएकालाई भेरी अस्पताल र लक्षण नभएकालाई सम्बन्धित जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा घर पठाइने गरिएको छ । कक्षका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रको मुम्बई, गुजरातबाट धेरै नेपाली स्वदेश फर्किरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !