१३ बैशाख २०८१, बिहिबार

सरकारद्वारा थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिद प्रक्रिया शुरु


कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं । नेपाल सरकारले थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिदका लागि प्रक्रिया शुरु गरेको छ । आज मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोना खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।

मित्रराष्ट्र भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा १४ माघदेखि खोप अभियान शुरू भएको थियो । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेकोमा पहिलो खेप १० लाख डोज नेपाल ल्याइ सकेको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ । यो १५ दिनभित्र आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जानकारी दिएका छन् ।

महानिर्देशक सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताउदै फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड-१९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिएतापनि एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि उनले बताए ।

चीनले पनि ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । यस्तै कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख आउँदैछ । यो सबै गर्दा सरकारसँग १ करोड १० लाख डोज खोप हुने सचिव अर्यालले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको बताउदै कोरोना विरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए ।

१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याँक नआएको हुनाले खोप नदिइने उनको भनाई छ । पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !