८ बैशाख २०८१, शनिबार

पत्रकारलाई भोलि सोमबारदेखि कोरोना खोप लगाइने


कोभिड खोप

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए ।

उहाँले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जनाए ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ र खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !