६ बैशाख २०८१, बिहिबार

बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाको नयाँ प्रजाति भित्रिएको पुष्टि


कोरोना

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही समयअघि नेपाल आएकालाई निगरानीमा राखेको थियो । निगरानी राखेकामध्ये छ वटा नमूनाको सार्स कोभ-दुईको परीक्षण गर्दा नेपालमा तीन नमूना एस जीन टार्गेट नेगेटिभ पाइएको थियो ।

नयाँ प्रजातिको सङ्क्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस २७ गते उनीहरुको नमूना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा हङकङ पठाइएकामा तीन नमूनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उक्त नमूनाको नजिता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई इमेलमा आज प्राप्त भएको उनले बताए । “तीन जनामा बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि १.१.७ तथा २० बि-५०१ वाई भी वान भएको पुष्टि भएको छ”, डा. गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाको भ्याक्सिन उपलब्ध नहुञ्जेलसम्म उच्च सावधानी अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

“सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएकाले यसलाई अपनाउन सबैमा अनुरोध छ”, डा गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलायत सहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् । नयाँ प्रजातिको भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ ।

बी-११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरस भन्दा ७१ प्रतिशत भन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमण भन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन् ।

अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !