१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु


मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !