७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार नाघ्यो


प्रदेश २

महोत्तरी, १ कात्तिक । प्रदेश २ मा कोभिड-१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये संक्रमणमुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको हो । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ ।

सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ । गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड-१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो ।

चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा संक्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताए ।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !