८ बैशाख २०८१, शनिबार

बीपी प्रतिष्ठानमा उपचाररत विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ २० । सुनसरी जिल्लाको धरानमा विराटनगरकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका-११ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४ वर्षदेखि उच्च रक्तचापको दीर्घरोगी रहेकी संक्रमित महिलालाई भदौ १८ गते प्रतिष्ठानमा भर्ना गरिएकी महिलाको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको हो । योसंगै प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिष्ठानमा भर्ना हुनुअघि उनलाई श्वासप्रश्वासमा कठिनाई हुनुका साथै पेट र छाती दुख्ने समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालमा उपचार गरिएको थियो । कोरोना संक्रमणको आशंका गरी स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भदौ १७ गते विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा पठाएका थिए ।

कोरोना पोजिटिभ पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा रिफर गरिएको थियो । मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !