१३ बैशाख २०८१, बिहिबार

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १२ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै चितवनमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ ।

भदौ ११ गते मंगलवार गरिएको परीक्षणमा चितवनका १६ जना र नवलपुरका १ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बिहीबार राति ९ बजेसम्म गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र पूर्वी नवलपरासी गैंडाकोटका १ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ११ गते ३३४ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १७ वटा नमुनाको नतिजा पोजेटिभ र ३१७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको नमूना नारायणी सामुदायिक अस्पताल, भरतपुर अस्पताल, रत्ननगरस्थित क्वारेन्टिन, खैरेनी क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालबाट गरिएको स्वाब संकलनवाट कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-४, १० र १२ का २३ र ४० वर्षीय पुरुषहरु २ जना र २७ वर्षीया महिला १ जना रहेका छन् ।

यस्तै बिहीबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै खैरहनी नगरपालिकाका एकैदिन १२ जना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा खैरहनी-३, ५, ८, ९ र १२ का पुरुषहरु ५ जना र महिलाहरु ७ जना रहेका छन् । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन् ।

त्यस्तै रत्ननगर नगरपालिका-८ की क्वारेन्टिनमा रहेकी ७९ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । साथै पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरी परीक्षण गर्दा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !