६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७७


कोरोना संक्रमण C

पोखरा, भदौ ११ । गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । कोरोना संक्रमित हुनेमा तनहूँका ९ जना, बागलुङका ८ जना, लमजुङका ४ जना, नवलपुरका ३ जना र पर्वतका १ जना रहेका छन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्बतको जलजला-५ का १ जना, बाग्लुङको बाग्लुङ नगरपालिका-१, ३,६, ८ र १० का ८ जना, लमजुङको बेसीशहरका ४ जना र तनहुँको म्याग्दे-४,६ र ७ का ८ जना तथा भानु नगरपालिका-४ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा नवलपरासी सुस्ता पूर्व गैंडाकोट-५ का ३५ वर्षीय १ जना पुरुषमा कोभिड १९ संक्रमण पुष्टी भएको छ । त्यस्तै नवलपुरकै मध्यविन्दु १० का ४० र ५० वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

पर्बत जिल्ला, जलजला गाउँपालिकाका संक्रमित व्यक्ति भारतबाट आएका हुन् । बाग्लुङ-१ का कोरोना संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत हुन् । त्यसैगरी बाग्लुङ-८ का कोरोना संक्रमित व्यक्ति भारतबाट आएका हुन् भने अन्य व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् ।

लमजुङ जिल्ला बेसीशहरमा कार्यरत २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत रहेका छन् भने १ जना पालिकामा कार्यरत कर्मचारी हुन् ।अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६६५ (निको हुने दर ८४.२१ %) रहेको व्यहोरा समेत अनुरोध छ ।

दुखद खबर : कास्की जिल्ला, पोखरा महानगरपालिका-११ का ३२ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ८:०० बजे पो.स्वा.बि.प्र. को आइसीयुमा उपचारको क्रममा मृत्यु भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा. डा अर्जुन आचार्यले जानकारी दिए । यसैगरी गण्डकी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७७

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !