७ बैशाख २०८१, शुक्रबार

भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव


भेन्टिलेटर

नारायणपुर, ९ भदौ । कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भएपनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ ।

दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालमा र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ वटा भेन्टिलेटर र १५ वटा आइसियु शय्या छन् । यी दुई अस्पतालमा भेन्टिलेटर र आइसियु शय्याहरु भएपनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालहरुले जनाएका छन् ।

कोरोना विषेश अस्पताल बेलझुण्डीमा पाँचवटा भेन्टिलेटर र पाँचवटा आइसियु शय्या छन् । यी शय्याहरु सञ्चालन गर्न न्यूनतम ३० जना चिकित्सकसहित स्वास्थ्यकर्मीको आवश्यकता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्यसचिव डा सर्वेश शर्माले जानकारी दिनुभयो । उपकरण भएपनि जनशक्ति नहुँदा जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनु परेको उहाँको भनाइ छ ।

“पिसिआर रिपोर्ट पोजेटिभ देखिएपनि लक्षण नदेखिएका सङ्क्रमितलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर अवस्थाका बिरामीहरुलाई बुटवल पठाउने गरिएको छ” सदस्यसचिव शर्माले भन्नुभयो । लक्षणसहितका बिरामी धेरै नदेखिएकाले पनि जनशक्ति नथपिएको उहाँले बताउनुभयो । उपकरणहरु तयारी अवस्थामा रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा जनशक्ति थप हुने उहाँको भनाइ छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि तीनवटा भेन्टिलेटर र १० वटा आइसियु शय्या राखिएको भएपनि प्रयोगमा भने आउन सकेको छैन । जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । कोरोनाको कहरकै बीचमा भेन्टिलेटर र आइसियुका उपकरणहरु ल्याएको भएपनि प्रतिष्ठानसँग पर्याप्त बजेट नहुँदा जनशक्ति नभएको उहाँले बताउनुभयो । उपकरणको जोहो गरेपनि त्यसलाई चलाउने जनशक्ति राख्न सरकारसँग बजेटको माग भैरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !