, चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा देखियो ३३ जनामा कोरोना संक्रमण

चितवन, भदौ ६ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २० जनासहित ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ५ गते प्राप्त भएका नमुनामघ्ये २७० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३३ वटा नमुनाको नतिजा पोजेटिभ र २३७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिईएको हो । भरतपुर-२, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।

साथै रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष १ जना, राप्ती नगरपालिका-२, ८ का ३५, ५५ वर्षीय पुरुष २ जना र २६ वर्षीया महिला १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।

यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ जना पुरुषहरु र २ जना महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब लिईएको हो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ३५ देखि ४० वर्षीय संक्रमित पुरुषहरुको बागेश्वरी ल्याबाट स्वाब लिइएको हो ।

चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि