७ बैशाख २०८१, शुक्रबार

२ हप्ता फेरि लकडाउन गर्न विज्ञको सुझाव : प्रधानमन्त्री ओली सकारात्मक


२ हप्ता फेरि लकडाउन गर्न विज्ञको सुझाव : प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा विज्ञहरुले कम्तीमा २ हप्ता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले २ हप्ता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन् ।

फेरि २ हप्ता लकडाउन गर्न विज्ञको सुझाव

ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् । प्रतिपक्षी दलका तर्फबाट देउवा र ठाकुर सुझाव दिएर बाहिरिएपनि विज्ञहरुसँगको छलफल अझै जारी छ । सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए ।

यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । विज्ञहरुले छिट्टै कम्तीमा पनि २ हप्ता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएको जानकारी प्राप्त भएको छ । विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएका छन् भने यसबारे थप छलफल गरेर टुंगोमा पुग्ने बताइएको छ ।

मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । पछिल्लो एक महिनामा हिजो सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गरेका हुन् । सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका थिए ।

सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ । कतिपय चिकित्सकहरुले काठमाडौंमा कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिइरहेका बेला प्रधानमन्त्रीले विज्ञसँग छलफल गरिरहेका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने वा नगर्ने तथा गरेमा के कति गर्ने भन्ने निर्णय गर्ने तयारी गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !