७ बैशाख २०८१, शुक्रबार

बझाङमा क्वारेन्टाइबाट घर पठाइएका ६६ जनामा देखियो कोरोना संक्रमण


कोभिड-१९

बझाङ, साउन १७ । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो शुक्रबार २५ जना र आज शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितहरु केदारस्यूँ गाउँपालिका-६ र ७ को थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँका स्थानीय बासिन्दा हुन् । उनीहरु सबै भारतबाट नेपाल फर्किएका भएको गाउँपालिकाले जानकारी दिएको छ ।

उनीहरु ८ देखि १२ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि घर गएका संक्रमितहरु होम क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु बेवास्ता गर्दै सामान्य मानिस झैं समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन ।

एकै पटक ठूलो संख्यामा संक्रमितहरु भेटिएपछि वडा नम्वर ६ र ७ लाई पूर्ण रुपमा सिल गर्ने गाउँपालिकाले निर्णय गरेको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा पुन: लकडाउन गर्ने निर्णय समेत गरेको छ ।

गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरुलाई भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर ७ काहरुलाई कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्काे वडामा जानु पर्दा वडाध्यक्षको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको बताए ।

संक्रमितहरु समुदायमा घुलमिल भइसकेको हुनाले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !