१३ बैशाख २०८१, बिहिबार

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज


भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

१९ जेठ, भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस (कोभिड-१९) संंक्रमित आज सोमबार बिहान डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरुमा ४ वर्षिया र १० वर्षिया बालिका सहित २२ जना पुरुषहरु र ३ जना महिलाहरु रहेका छन् ।

अस्पतालका अनुसार आज डिस्चार्ज हुनेहरुमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५ जना, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४ जना, नवलपरासीका ३ जना, भारतीय नागरिक १ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना रहेका छन् । उनीहरु गत वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए ।

आज डिस्चार्ज हुनेहरु १ जना भारतीय नागरिक बाहेक अन्य सबै भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । जसमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना छन् । भारतको उत्तर प्रदेश राज्यको गोण्डा घर भएका अर्का भारतीय नागरिकलाई लकडाउनका कारण स्वदेश जान नपाएपछि भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा अन्य भारतीय नागरिकसँगै राखिएको थियो । स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालका अनुसार आज २५ जना डिस्चार्ज भएसंगै अस्पतालमा अव कुनै कोरोना संक्रमित छैनन । डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए । उनीहरुलाई ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !