१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरसवाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु पुष्टि


मृत्यु-निधन

१५ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

उक्त अस्पतालका अनुसार उनको बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । तर मृत्युपछि आएको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालको भनाइ छ । यसअघि नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

जेठ ११ गते पाटन अस्पताल पुगेका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो । जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो । १२ गते भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । नेपालमा ५१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई १८७ जनाले जितेर घर फर्किएका छन् । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !