४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसका कारण ललितपुरमा १ जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो


मृत्यु-निधन

१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

उक्त अस्पतालका अनुसार उनको बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । तर मृत्युपछि आएको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालको भनाइ छ । मृतकको शव अहिले अस्पतालमै छ । अस्पताल सिल गर्न त्यहाँ प्रहरी पुगिसकेको छ । यसअघि नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको औपचारिक पुष्टि भने गरेको छैन ।

जेठ ११ गते पाटन अस्पताल पुगेका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो । जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो । १२ गते भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ४७ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई १८३ जनाले जितेर घर फर्किएका छन् । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११४ संक्रमित

नेपालमा अहिलेसम्म १८३ जनाले कोरोनालाई जितेर घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !